हरि

आज भुर्तेल परिवारमा छुट्टै उमङ्ग छ
११:११ मा घरकै पहिलो छोरा जन्म्यो रे
सकुन्तला नाम राम राखौं भनेर जिद्दी गर्थी रे
तर हल नारायण के सुन्थे र, उसलाई हरि भनिदिए

आफ्नो भाइको अनुहार हेर्न सुन्तली दौडिदै आउदै छे
“मेरो घरमा पनि भाइ छ भन्दै अब त्यो रुपालाई सुनाउन कत्ति मज्जा आउँछ”
हतारहतार ती हातका गट्टि गोजीमा राखी हात धोएर हरिको नजिक जान्छे
भाइ त कत्ति सानो है आमा? अनुहारमा खुसी प्रस्टै झल्कित्यो

हल नारायण छोराको बाउ भयो
सकुन्तलाको स्वर्गको ढोका खुल्यो
सुन्तली अब रुपा जस्तै दिदी भाकी छे
भुर्तेल परिवारमा यति खुसी कहिलै आएको थिएन

हरि ४ बर्षको भयो
सुन्तली ९ बर्ष भई
भाइलाई हात समाएर स्कुल पुर्याइदिन्छे सुन्तली
नयाँ झोला लुगा सबै देखेरै मख्ख छे उ त!
मेरो भाइ पनि स्कुल जान्छ- खुसी छे सुन्तली आज

हलनारायण पनि विदेश जाने तयारीमा छ
सकुन्तलाको भिनाजु पर्ने एक जना काठमाडौंमा मिनपर चलाउछन् रे
रुपाका बालाई पनि उनैले हो २ वर्ष पहिले कतार पठाको
हलनारायण उनलाई भेट्न काठमाडौं जादै छ
बाबा राम्ररी जानु है- सुन्तलीले अँगालो हाल्दै भन्छे

कहिलेकाहीं हलनारायणले पल्लो गाउँको रामेको मा फुन गर्छ
विदेश गाको पनि ४ वर्ष भयो, न कमाउनै सक्यो, न फर्किन सकेको छ
जाने बेला लेको ऋणनै तिरेको छैन, फर्किने कुरा पनि भएन
फुनमा १ घण्टा कुरा गर्छन्, हरिले अहिले त हिसाब सबै भन्ने भैसक्यो
नेपालको ७५ जिल्ला पनि कन्ठै छ रे
सुन्तली पनि बाउनी भैछे
आमाले जिस्काउदै थिइ

सुन्तली अब ठुली भैछे
भाइलाई स्कुल छोड्दा खुसी हुन्छे
तर म किन छैन?
म चैँ जानु नहुने हो र?
जस्ता प्रश्न प्रसस्तै आउछन् उसका मनमा
तर कसलाई भन्ने?

आमालाई अस्ति भनेकी त थिइ उसले
‘म चै स्कुल जान मिल्दैन आमा, भाइसँग कखरा पनि सिकेकी छु
उसले दिदी तँ कति छिटो सिक्छेस पनि भन्दै थियो”
सकुन्तला उसलाई तँ खुरुक्क आफ्नो काम गर्न भाइ सँग डुलेर बस्छे भन्दै हकार्दै थिइ
आमा खेतमा गाको बेला हरिको स्कुलको लुगा लगएर
पुरानो झोला बोक्दै आफुलाई ऐनामा हेर्थी सुन्तली
कति राम्री म बाट कति अभागी म,
एक्कै चोटी यी विरोधाभाषपूर्ण भावनाहरु उसका मनमा आउछन्
भाइको माया त अझै छ, तर भाइ मात्रै किन?

हल नारायण पनि नेपाल फर्क्यो,
सुन्तली १८ बर्ष की हुदाँ ब्या पनि गरि भ्याए
केटाको सहरमा जागिर थियो रे, २८ बर्षको
२ लाखको दाइजो हाले रे!
हरि दिदी जान लाको देखेर रुदै थियो
सुन्तली पनि भक्कानिदै थिइ
हल नारायण को चेहेरामा सफलताको जोस देखिन्थियो

हरि अब ठुलो भयो
काठमाडौंमा आएर बसेको छ
व्या पनि गरिसक्यो
केटि पढेकी छे
जागिरे हो
छोरी पनि ७ वर्षकी भैसकी

सुन्तलीको एउटा छोरा र एउटा छोरी छन्
सुन्तलीको छोरी डिग्री पढ्दै छे
छोरा चै विदेशमा छ रे
हल नारायण ३ वर्ष अघि खसे रे
अहिले सुन्तलीसँग सकुन्तला बसेकी छे
बेला बेला हरिको मा पनि जान्छे

 

Leave a comment